काठमाडौँ । ललितपुरस्थित यातायात व्यवस्था कार्यालय
एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। सेवाग्राहीलाई छिटो काम गरिदिने
भन्दै अतिरिक्त रकम असुल्ने र अनियमितता गर्ने गतिविधिमा संलग्न उनीहरूलाई
प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त
सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख
दिने गरेको प्रहरीले बताएको छ । फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने
गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर
अनुसन्धानअघि बढाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
सेवाग्राहीको गुनासोका आधारमा गरिएको निगरानीका
क्रममा बिचौलियाहरूलाई कार्यालय परिसरबाटै समातिएको प्रहरीले जनाएको छ। उनीहरूले
लाइसेन्स, नविकरण तथा अन्य सेवामा सहजता दिलाइदिने बहानामा सेवाग्राहीसँग पैसा लिने
गरेको पाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान
भइरहेको छ। यातायात कार्यालयले भने यस्ता अवैध गतिविधि नियन्त्रणका लागि कडाइ
गर्ने र सेवाग्राहीलाई कुनै पनि बिचौलियाको भर नपर्न आग्रह गरेको छ।
यस घटनाले सार्वजनिक सेवामा देखिएको बिचौलिया समस्यालाई फेरि एकपटक उजागर गरेको छ। पारदर्शिता र सहज सेवाका लागि सम्बन्धित निकायले दीर्घकालीन सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।