सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दर्ता

banner add
writter
बुध, २६ कात्तिक २०८२
(Shares)

काठमाडौँ — नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक पदमा नियुक्त भएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दर्ता गरिएको छ।

झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध फर्जी शैक्षिक योग्ताको प्रमाणपत्र पेस गरेको मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार निरौला २०५५ सालमा सो विद्यालयको प्रावि तहको शिक्षकका लागि अस्थायी नियुक्ति भई कार्यरत रहेका थिए। 

सोही अवस्थामा २०७५ चैत २८ गते स्थायी नियुक्ति लिई प्रावि तह तृतीय श्रेणीको शिक्षकको रूपमा हालसम्म कार्यरत रहेको देखिएको छ। 

शिक्षा सेवा आयोग र सम्बन्धित विद्यालयबाट प्राप्त जानकारीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले सो मुद्दा दायर गरेको हो। 

आयोगका अनुसार सो शिक्षकले असलीजस्तो देखिने तर जालसाजी गरी तयार पारिएको प्रमाणपत्र प्रयोग गरेर स्थायी नियुक्ति प्राप्त गरेका थिए।

छानबिनका क्रममा शिक्षकले पेश गरेको प्रमाणपत्र सम्बन्धित विश्वविद्यालयमा अवैध र नक्कली भएको पुष्टि भएपछि अख्तियारले उनको विरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ।

अख्तियारका प्रवक्ता अनुसार, “शैक्षिक क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र हो। नक्कली प्रमाणपत्रका आधारमा सेवा लिनु न केवल गैरकानुनी हो, यो विद्यार्थीको भविष्यसँग खेलबाड पनि हो।”

निजले प्रावि तहको शिक्षक पदमा कार्यरत रही तलब, भत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधासमेत प्राप्त गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएको हुँदा सोही बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

मुद्दा दर्ता भएसँगै सम्बन्धित शिक्षकलाई सेवा स्थगन गरिएको छ भने विद्यालय प्रशासनलाई समेत अनुसन्धानमा सहकार्य गर्न निर्देशन दिइएको छ।

अख्तियारले हालै सार्वजनिक गरेको विवरणअनुसार, पछिल्लो तीन महिनामा मात्रै नक्कली प्रमाणपत्र प्रयोग प्रकरणमा सातवटा मुद्दा दर्ता भएका छन्। आयोगले प्रमाणपत्र जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी पनि अघि बढाइरहेको छ।

आयोगका अनुसार निजले नियुक्ति लिनका लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको भनी नक्कली तथा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। 

ads
ads
add
banner add

सम्बन्धित खबर