अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका कारण अर्थतन्त्रमा केही असहजता आएकाले त्यसको सुधारका लागि आगामी मौद्रिक नीतिले केही कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । तर, अर्थतन्त्रमा अहिले देखिएको समस्या मौद्रिक नीतिका कारणमात्र नभई वित्तीय नीतिले गर्दा पनि हो । त्यसैले वित्तीय नीतिबाट नै अहिलेको समस्याको सम्बोधन हुनुपर्छ ।
वित्त नीति अर्थ मन्त्रालयले तय गर्छ भने मौद्रिक नीति नेपाल राष्ट्र बैंकले । विदेशी विनिमय सञ्चितिमा समस्या आउन लागेपछि राष्ट्र बैंकले आयातमा कडाइको नीति लियो । त्यस्तै कोरोना कालमा विस्तारकारी मौद्रिक नीति लिएको उसले अहिले भने संकुचनकारी नीति लिएको छ ।
यही कारण कर्जाको ब्याजदर बढेको छ । धेरैको बुझाइ अर्थतन्त्रको ठूलो समस्या चर्को ब्याजदर हो र त्यसमा राष्ट्र बैंक जिम्मेवार छ । अर्थमन्त्रीले पनि यही बुझाइ देखिन्छ ।
तर, यो समस्या बजेट निर्माणदेखि खर्च र लेखापरीक्षणसम्मका गतिविधिमा भएका गलत काम नै कारण बनेको देखिन्छ । अर्थतन्त्रको समस्याको जडमा नपुगी अहिले समाधान निकाल्न सकिँदैन । तर, अर्थमन्त्रीले सीधै राष्ट्र बैंकलाई नै सुधारको जिम्मा दिएको जस्तो देखिन्छ ।
राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको सिफारिशमा नियुक्त भएका हुन् । गभर्नर आपैm वा अन्य कारणले गर्दा उनी कुनै राजनीतिक दलका हुन् भन्ने तथ्य सार्वजनिक भइसकेको छ ।