आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement
banner add

नेपालमा कोकाकोलाको स्थापना देखि कर छलि सम्मको नालीबेली

writter
बुध, ०७ साउन २०८२
(Shares)

काठमाडाैँ । चर्चित पेय पदार्थ कोकाकोला १३३ को उमेरमा हिँडिरहेको छ, अर्थात कोकाकोला उत्पादन सुरू भएको १३३ वर्ष भएको छ । सन् १६२० मा अंग्रेज व्यापारी रिचर्ड जब्सन ग्याम्बिया नदी हुँदै पश्चिम अफ्रिकाको अन्दरुनी पुगेका थिए। त्यस बेलासम्म उनका लागि कोला एकदमै नयाँ बिज थियो।

डा. पेम्बरर्टन र उनका लेखा सहयोगी फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए। ८ मे १८८६ मा पहिलो पटक यसको उत्पादन सुरु भएको थियो जसको परिकल्पना संयुक्त राज्य अमेरिकाका डा. जोन एस पेम्बर्टनले गरेका थिए ।

उनले नै यसको डिजाइन र ट्रेडमार्क दर्ता गरेका हुन् । जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ। डा. पेम्बर्टनले यसको सिर्जना गरेपछि यसलाई अमेरिकी बजारमा फैलाउने काम एस जी क्यान्डलरले गरेका थिए ।

इतिहारकार लवजाय पन्ध्रौँ शताब्दीसम्म पनि युरोपका जनतालाई कोलाको महत्व थाहा भइ नसकेको बताउँछन्। सोह्रौँ शताब्दीमा जब पोर्चुगल उपनिवेश विस्तारका लागि अफ्रिका पुग्यो अनि कोलालाई युरोप ल्यायो। तर, त्यतिन्जेल सम्म पनि उनीहरुले कोलाको सबै महत्व बुझिसकेका थिएनन्।

हाल विश्वका कम्तीमा २०० मुलुकमा कोकाकोलाको उत्पादन हुने गर्दछ, उत्तर कोरिया र क्युबामा कोकाकोलाको लुकिछिपी कारोबार हुने भएपनि उत्पादन हुँदैन् ।

विश्वबजारमा कोकाकोला आएको ९३ वर्षपछि अर्थात वि.सं. २०३६ साल बैशाख २५ (सन् १९७९ मे ८) मा यसले नेपालमा उत्पादन सुरू गर्यो, त्यसअघि भारतबाट कोकाकोला नेपाल आयात गरि उपयोग गरिन्थ्यो ।

नेपालमा ठ्याक्कै कति सालबाट कोकाकाला पिउन सुरू गरियो यकिन भएको छैन्। वि.सं. २०२५ साल (सन् १९६८) मा भारतबाट १ लाख ५० हजार बोतल कोकाकोला नेपाल भित्र्याइएको थियो । जमशेदपुर  स्थित नकुल डि. कमानीको स्वामित्वमा रहेको स्टील सिटी बेभियर्सले उत्पादन गरेको कोकाकोला नेपाल निर्यात गर्दथ्यो ।

सन् १९७३ मा स्थापित बोटलर्स नेपालले बालाजु औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गरी ४१ वर्षदेखि नेपाली बजारमा कोकाकोला र अन्य उत्पादनको कारोबार गरिरहेको छ ।

कोकाकोलाको नेपालमा उत्पादनका लागि अनुमति पाएको बोटलर्स नेपालले पहिलोपटक सन् १९७९ मा काठमाण्डैमा उत्पादन प्लाण्ट स्थापना गर्यो भने त्यसको ८ वर्षपछि चितवनमा दोश्रो प्लाण्ट सुरू भयाे ।

भारतीय उद्योगपति नकुल डी. कमानीले २०३५ साल चैत १३ गते तत्कालीन अधिराजकुमारी हेलेनसँग सम्झौता गरेर तत्कालीन १ करोड भारु (तत्कालीन विनिमयमा १ करोड ३५ लाख रुपैयाँ) लगानी गरेर बोटलर्स नेपालमार्फत कोकाकोलाको बोटलिङ/उत्पादन थालेका थिए ।

“त्यसभन्दा अघि नै २०२९ सालतिरै बोटलर्स नेपाल दर्ता भइसकेको थियो,” तत्कालीन समय (पञ्यातकालमा) लामो समयसम्म उद्योग विभागका महानिर्देशक रहेका एक जना पूर्वप्रशासकले भने, “दरबारको संलग्नताबिना त्यो बेला उद्योग खोल्न गाह्रै थियो। के-कति सेयर दिने सहमति भएको थियो भन्ने प्रशासनिक संयन्त्रमा थाह हुने कुरा भएन ।”

सन् १९९३ मा कमानीले आफ्नो ७६ प्रतिशत सेयर सिंगापुर स्थत कोकाकोलाको बोटलिङ प्लान्ट, फिजर एन्ड नीभ कोकाकोला पिटिइ. लिलाई बेचियो । 

सन् १९९९, २००४, २०११ र २०१४ मा कोकाकोलाको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको र त्यसबापत नेपालले पाउनु पर्ने पुँजीगत लाभकरसहित अन्य कर छलिएको विषयमा हाल राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।

१९८७ मा अर्को कम्पनी बोटलर्स नेपाल (तराई) खडा गरी भरतपुरबाट पनि उत्पादन थालिएको थियो । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको मुख्यालय एटलान्टामा छ ।

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर विदेशी लगानीकर्ता, २२ प्रतिशत सेयर नेपालस्थित खेतान ग्रुपअन्तर्गत गोरखा ब्रुअरी र २ प्रतिशत सेयर सर्वसाधारणको छ ।

‘७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐन, २०५८ अनुसारको २५ प्रतिशत पुँजीगत लाभकर छल्न खोजिएको देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘यसबारे उजुरी परेपछि हामीले अनुसन्धान गरिरहेका छौं । अफसोर कारोबार भएका कारण प्रमाण जुटाई मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाउन कठिन परिरहेको छ ।’

बहुराष्ट्रिय कम्पनीका कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेड र उसको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडमा स्थापनाकालदेखि हालसम्म कति वैदेशिक लगानी (एफडीआई) भित्रियो भन्ने नेपालका नियामकीय निकायमा स्पष्ट लेखांकन नै नभएको पाइएको छ ।

यस विषयमा जानकारीका लागि उद्योग विभाग र नेपाल राष्ट्र बैंकमा बारम्बार गरिएका सम्पर्कपछि दुवै निकायका अधिकारीहरूले वैदेशिक लगानीको स्पष्ट जानकारी दिन सकेनन् ।

“पञ्चायतकालमा दर्ता भएको कम्पनी रहेछ । त्यो बेलाका कागजपत्र भेट्न सकिएन । यसमा समग्र वैदेशिक लगानी कति हो भन्ने नै जानकारी प्राप्त गर्न सकिएन,” उद्योग विभागका एक वरिष्ठ अधिकारीले भने ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरूले पनि आर्थिक वर्ष २०५६/५७ यताका मात्रै समग्र वैदेशिक लगानीका रेकर्ड भेटिएले त्यसअघिको लगानीको अवस्थाबारे कुनै जानकारी नभएको बताए ।

सार्वजनिक विवरण तथा विभागसम्बद्ध स्रोतले जनाएअनुसार विदेशमा एक कम्पनी खडा गरी त्यसको खरिदबिक्री उतै गर्ने र नेपालमा पुँजीगत लाभकर नतिर्ने उद्देश्य राखेको देखिन्छ ।

त्यसका लागि सिंगापुर, दुबई तथा अन्य देशमा विभिन्न तहमा कम्पनी खडा गरी खरिदबिक्री गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको विभाग स्रोत बताउँछ, जुन खरिदबिक्रीबारे यहाँको उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंकलगायत निकायलाई जानकारी दिइएको छैन ।

‘अनौपचारिक कागजातहरूका आधारमा सन् २०१४ मा नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनी कोकाकोला साब्को (एसिया) लिमिटेड दुबईमा बिक्री भएको देखिन्छ,’ राजस्व अनुसन्धान विभागसम्बद्ध स्रोत भन्छ, ‘त्यो कम्पनीले नेपाली स्रोतको प्रयोग गरी लाभ आर्जन गरेको र कानुनअनुसार त्यस्तो लाभमा कर तिर्नुपर्ने हुन्छ । तर उसले यहाँका सरकारी निकायमा कुनै जानकारी नै नदिई कर छली गर्न खोजेको देखिन्छ ।’

बहुराष्ट्रिय कम्पनीहरूले विदेशमै यसरी कारोबार गरी कल छल्ने प्रयास गरे पनि नेपालमा कर तिर्नुपर्ने नजिर स्थापना भइसकेको छ । त्यसको एउटा उदाहरण अघिल्लो पटक बोटलर्स नेपाल लिमिटेडकै अफसोर कारोबार हो ।
 
सन् २००४ मा बोटलर्स नेपालको ७६ प्रतिशत सेयर विदेशमै बिक्री हुँदा आन्तरिक राजस्व विभागले छानबिन गरी कर निर्धारण गरेको थियो । ‘त्यतिबेला पनि अहिलेकै जस्तो यहाँका सरकारी निकायलाई कुनै जानकारी नदिई सेयर बिक्री गरेकामा त्यसमाथि छानबिन गरी ६६ करोड ५० लाख ८१ हजार ६९१ रुपैयाँ कर निर्धारण गरिएको रहेछ,’ विभाग स्रोत भन्छ ।
 
कर निर्धारण भए पनि लामो समय बोटलर्स नेपालले कर दाखिला भने गरेन । त्यो बक्यौता करसमेत २०७१ मा गठन भएको विवादास्पद कर फर्छ्योट आयोगले मिनाहा गरिदिएको थियो ।
 
आयोगको विवरणअनुसार बोटलर्स नेपाललाई २३ करोड रुपैयाँ कर दाखिला गर्न लगाई साढे ४३ करोड रुपैयाँ कर छुट दिइएको थियो ।
 
‘आयोगले छुट दिए पनि कर निर्धारण हुनुको अर्थ बाहिर कारोबार गरे पनि यहाँ रहेको कम्पनीलाई हाम्रो कानुनअनुसार पुँजीगत लाभकर तिराउन सकिन्छ भन्ने हो,’ विभाग स्रोत भन्छ, ‘पछिल्लो कारोबारका विषयमा पनि थप अध्ययन गरेर कर निर्धारण गर्ने दायित्व आन्तरिक राजस्व विभागको हो, जसबारे उसले चासो नै दिएको छैन ।
 
हामीले अनुसन्धान गरेर मुद्दा दायर गर्ने हो, जसको प्रमाण जुटाउन समय लाग्ने देखिएको छ ।’ यस्तो कारोबारमा यहाँको कम्पनीलाई उत्तरदायी बनाएर कर निर्धारण गर्न सकिन्छ भन्ने अर्को उदाहरण दूरसञ्चार कम्पनी एनसेलको १२ औ पटकको बिक्री प्रकरण हो ।

एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको विदेशस्थित रेनोल्ड होल्डिङ्स कम्पनी हिस्सेदार टेलियासोनेराले मलेसियाको कम्पनी आजियाटालाई बिक्री गरेको थियो । त्यसमाथि कर लाग्छ वा लाग्दैन भन्ने लामो समयको बहसपछि यसको निरूपण सर्वोच्च अदालतले गरिदिइसकेको छ । अदालतको फैसलाबमोजिम एनसेलले उक्त बिक्रीमा करिब ४६ अर्ब रुपैयाँ कर बुझाइसकेको छ ।

कोकाकोला उत्पादकसँग अन्तरसम्बद्ध कम्पनी विदेशमा बिक्री भई त्यसमा कर लगाउन सक्ने नजिर भए पनि यहाँका राजस्वबाहेक अन्य सरकारी निकायले भने मौनता साँधेका छन् । यस कर छलि बिषय बाहिरिने थाहा भएपछि कोकाकोला कम्पनीले बहुराष्ट्रिय कम्पनी कोकाकोलाले सबै ट्रेड युनियनका कर्मचारीलाई बोलाएर, धम्क्याएर यस्तो कागजमा सही गराएको छ । 

यसपटक कति रकममा कम्पनी बिक्री भएको भन्ने विवरण नभेटिए पनि कर छलीको अंक एक अर्ब रुपैयाँभन्दा बढी नै हुने अनुमान छ । ‘७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर छल्न खोजियो’ बुझएकाे बिभागकाे ठहर छ।

सन् २००४ मा बिक्री हुँदा करिब साढे ६६ अर्ब रुपैयाँ कर छली गर्न खोजेको विभागकाे अनुमान छ । यस्काे ‘यकिन विवरण त छैन एक अधिकारीले भने। तर पनि १० वर्षमा यो कम्पनीको मूल्य दोब्बर भएको सहजै अनुमान गर्न सकिन्छ । त्यस आधारमा पनि कम्तीमा एक अर्ब रुपैयाँ कर छलीको प्रारम्भिक आशंका गर्न सकिन्छ ।’

बोटलर्स नेपालको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) पनि हो, जसमा बोटलर्स नेपालको ९१ प्रतिशत सेयर छ । बाँकी ९ प्रतिशत सेयर सर्वसाधारणको छ ।

(लेखक: जीवन शर्मा खाेज पत्रकारितामा कलम चलाउने- खाेजपत्रकार हुन्।)

ads

सम्बन्धित खबर