सुर्खेत प्रहरी कार्यालयले वार्षिक मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्नु निकै प्रशंसनीय उपलब्धि हो । यसले प्रहरी संगठनको कार्यकुशलता, प्रतिबद्धता र सेवाप्रतिको जिम्मेवारीको प्रतिविम्ब देखाउँछ । सुरक्षासम्बन्धी दायित्व मात्र नभई जनताप्रति जवाफदेही भएर काम गर्नुपर्ने प्रहरीको भूमिकालाई यसले अझ मजबुत बनाएको छ ।
यस उपलब्धिले संगठनभित्र प्रतिस्पर्धात्मक भावना जगाउनेछ, जसको परिणामस्वरूप सेवाग्राहीमैत्री व्यवहार, अपराध नियन्त्रण, अनुसन्धान र समग्र सुरक्षा व्यवस्थामा सुधार आउने अपेक्षा गर्न सकिन्छ । यस्ता मूल्याङ्कन र त्यसको आधारमा हुने सम्मानले जनताको विश्वास जित्न प्रहरीलाई थप प्रेरित गर्छ ।
तर, पुरस्कार वा स्थान मात्र मुख्य होइन, सेवाको गुणस्तर निरन्तर सुधार गर्दै जनताको आस्था मजबुत बनाइराख्नु नै प्रहरीको दीर्घकालीन चुनौती हो । त्यसैले अन्य कार्यालयले पनि सुर्खेत प्रहरी कार्यालयबाट सिकेर सेवा प्रवाहलाई पारदर्शी, छरितो र प्रभावकारी बनाउनुपर्नेछ ।
आ.व. २०८१/०८२ को कार्यसम्पादन सम्झौताअन्तर्गत कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयमध्ये सुर्खेत जिल्ला प्रहरी कार्यालयले ९८ प्रतिशत अंकका साथ प्रथम स्थान हासिल गरेको छ ।
वार्षिक मूल्याङ्कनमा पहिलो स्थान प्राप्त यस उपलब्धिले सुर्खेत प्रहरीको हौसला र मनोबल थप उकास्ने विश्वास गरिएको छ । उक्त उपलब्धिका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी माधव प्रसाद श्रेष्ठले आभार व्यक्त गर्दै, सुर्खेतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले गरिरहनुभएको छ भने उहाँलाई व्यावसायिक दक्षता र अनुभवसहितका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढाथापाले साथ दिइरहनुभएको छ ।
सुर्खेत प्रहरी कार्यालयको यो उपलब्धिलाई प्रदेशकै लागि उदाहरणीय मानिएको छ ।