सिड्नी (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडी रोहित तामाङले अस्ट्रेलियाको न्युक्यासलमा तेक्वान्दो एकेडेमी स्थापना गरेका छन् ।
पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा ५ पटकका राष्ट्रिय च्याम्पियन रोहितले करिव एक महिनाअघि न्युक्यासलमा गुर्खाज तेक्वान्दो एकेडेमीको स्थापना गरेका हुन् । हाल एकेडेमीमा १३ जनाले प्रशिक्षण लिइरहेका छन् ।
यसअघि जीवन श्रेष्ठले सन् २०२० मा सिड्नीमा यो एकेडेमीको स्थापना गरिसकेका छन् । यस्तै इस्ट मेटल्यान्डमा एक वर्षअघि तामाङ र उज्वल गुरागाईं मिलेर एकेडेमीको स्थापना गर्दा यसवर्ष न्यु क्यासलमा उनी आँफैले एकेडेमीको स्थापना गरेका हुन् ।
मेटल्यान्ड र न्युक्यासलमा गरेको अहिले २८ जनाले निरन्तर प्रशिक्षण गरिरहेको प्रशिक्षक तामाङले जानकारी गराए ।
‘तेक्वान्दोप्रतिको आफ्नो लगावकै कारण नयाँ पुस्तालाई पनि तेक्वान्दो प्रति लगाव बढाउन एकेडेमीको स्थापना गरेका छौं, ’ मुख्य प्रशिक्षक तामाङले भने, ‘तेक्वान्दोलाई अझ उच्च स्तरमा पुर्याउने उद्देश्यका साथ आफ्नो प्रशिक्षणमार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र समुदायको भावना विकास गर्ने प्रयास हो । तेक्वान्दोले मेरो जीवन नै परिवर्तन गरेको छ । अब म यसलाई अरुको जीवन निर्माणमा प्रयोग गर्न चाहन्छु ।’
नेपालमा हुँदा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेका उनी चौथो डान ब्ल्याक बेल्ट हुन् । उनले नेपालबाट लन्डन ओपन च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
यस्तै उनले नेपालबाट थाइल्यान्डमा ओलम्पिक छनोट खेलसँगै कोरियन ओपनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन् ।
नेपालको सिन्धुपाल्चोकमा जन्मिएका तामाङ आफ्नो उज्जल भविष्यको लागि २०१७ मा अष्ट्रेलिया आएका थिए । यहाँ आएपनि उनले आफ्नो तेक्वान्दो कर्मलाई छाडेका छैनन् ।
अष्ट्रेलियामा उनले न्यु साउथ वेल्स (एनएसडब्लु) च्याम्पियनसिपमा स्वर्ण र गोल्डकोस्ट ओपनमा रजत पदक जितेका थिए । खेलाडी हुँदै उनी अहिले प्रशिक्षकका रुपमा सक्रिय छन् ।