काठमाडौँ — रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई प्रदान गरिएको छ ।
रोटरी अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव समारोहमा कार्कीलाई रोटरी क्लबका डिस्ट्रीक गभर्नर विनोद कोइरालाले सम्मानपत्र र मालालगाई सम्मान गरेका छन् । उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा स्वरुप सम्मान गरेको क्लबले जनाएको छ ।
मातृभूमिले परोपकारी कार्यगरी समाजमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई हरेक वर्ष हिरो अवार्डद्वारा सम्मान गर्दै आएको छ । त्यस अवसरमा क्लबले रोटरीमा नेपालको तर्फबाट पहिलोपल्ट इन्टरनेसनल चेयर फर लिड फेलोसिपमा चुनिएका क्लबका पूर्वअध्यक्ष विष्णुहरि दाहाललाई समेत विशेष सम्मान गर्यो ।
रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अबको नेतृत्व युवा उधमी निर्मल ढकालले गर्ने भएका छन् । डेढ दशकदेखि परोपकारी कार्यमा क्रियाशील ढकालले क्लबको वर्ष २०२५-२६ को नेतृत्व गर्ने छन् ।
सल्लाहकारमा संस्थापक अध्यक्ष निगम हुमागाईंसहित पूर्वअध्यक्षहरु विनोद अधिकारी, विष्णुहरि दाहाल र बाबुराम आचार्य रहेका छन् ।