सर्लाही, मंसिर १६। "भ्रष्ट कमिशनखोर जनप्रतिनिधिहरुको भण्डाफोर गरौं ! आजपाद्धारा जारी संघर्षलाई जनस्तरमा स्थापित गरौं !!" भन्ने जोशिला नारासहित आज जनता पार्टी (आजपा), सर्लाही जिल्ला पदाधिकारीको आकस्मिक बैठक बयलबास बजारमा सम्पन्न भएको छ ।
भ्रष्ट शासक प्रशासकले गर्दा देश बर्बाद भएकोप्रति गम्भीर चिन्ता एवं आक्रोश व्यक्त गर्दै यस बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय समेत बैठकबाट भएको छ ।
आजपाका केन्द्रीय प्रवक्ता चन्द्र भुषण (सीबी) साहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले सर्लाही जिल्लाका चारै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूलाई यसपालि आम जनतामयी बनाउने संकल्प गर्दै, पालिका र वडा स्तरसम्म संगठन निर्माण तथा सुदृढीकरणको लागि निर्वाचन क्षेत्र विशेष कमाण्ड तोकेको छ ।
जस अनुसार क्रमश निर्वाचन क्षेत्र नम्बर एकको संयोजकमा सुरेश महतो र सहसंयोजकमा बिन्दु साह, दुईको संयोजकमा सुनिल गुप्ता र सहसंयोजकमा नविन साह, तीनको संयोजकमा डा. नबल किसोर साह र चारको संयोजकमा डा. शैलेन्द्र यादव र सहसंयोजकमा रेहना खातुनलाई जिम्मेवारी तोकिएको छ ।
उक्त बैठकलाई सम्बोधन गर्दै आजपा प्रवक्ता सीबी साहले भने: “देश बदलावको दिशामा अघि बढिसकेको छ, अब हामीले ढिलो गर्नु हुँदैन । जसरी किसानले राम्रो अन्न बालि फलाउन खेत बारीमा रहेको खरपतार (घाँसपात) को लोभ गर्दैन ।
भत्केको पुरानो झुपडी नहटाइकन त्यही ठाउँमा अर्को नयाँ पक्की भवन बनाउन सकिँदैन । त्यसैगरी, हाम्रो समाजमा पनि पुराना भ्रष्ट, बेईमान र ‘डेट एक्सपायर’ नेताहरुलाई बिदाई नगरीकन नयाँ, कुशल र इमानदार नेतृत्वलाई स्थापित गर्न सकिँदैन ।"
उनले अघि थप्दै भन्ने, “ हाम्रो देश अहिले विदेशी शक्ति केन्द्रहरुको खेल मैदान बन्दै गएको छ । यदी देशको स्वभिमान एवं स्वाधीनताको रक्षा सहित लोकतन्त्र र अर्थतन्त्र जोगाउनु छ भने सम्पूर्ण देशभक्त, प्रगतिशील र न्यायप्रेमी जनसमुदायहरू विदेशी दलाल, भगौडा एवं भ्रष्टाचारीहरु विरुद्ध एकाकार हुने बेला आएको छ । साथै, “बेईमानहरुलाई बहिष्कार गरौं, इमान्दारहरुलाई स्वीकार गरौं” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै जनस्तरमा स्थापित समेत गराउन जरूरी छ ।"
जिल्ला अध्यक्ष डा नबल किशोर साहको अध्यक्षतामा बसेको बैठकले सुशासन सहितको जनमुखी शासन स्थापनाका लागि संगठन र संघर्षलाई थप तीव्र बनाउने निर्णय पनि गरे