काठमाडौं : नेपाली सेनाले छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलकदमी लिएको प्रष्ट पारेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको जानकारी दिएको हो।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिलाई सामान्यीकरण गर्न विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ ।
देशको शान्ति, स्थायित्व र जनसुरक्षाका लागि आवश्यकताअनुसार नेपाल सेनाले पहल लिएको भनाइ आएको छ। सेनाको यस्तो अभिव्यक्ति अहिलेको संवेदनशील परिस्थिति सन्दर्भमा महत्त्वपूर्ण छ, जहाँ आन्तरिक असन्तोष, राजनीतिक अस्थिरता र प्राकृतिक विपद्जस्ता चुनौतीहरू एकसाथ देखापर्दै छन्।
सेना राष्ट्रको स्वाधीनता, सार्वभौमिकता र आन्तरिक स्थायित्वको अन्तिम गारन्टी हो। शान्ति सुरक्षाको सुनिश्चितताका लागि जब अन्य निकायहरू कमजोर, निष्क्रिय वा असमर्थ देखिन्छन्, त्यतिबेला सेनाको सक्रियता राष्ट्रिय हितमा आवश्यक मानिन्छ। तर यस्तो पहल संविधान र कानूनी सीमाभित्रै हुनुपर्छ, जसले नागरिक अधिकार र लोकतान्त्रिक मूल्यमा हस्तक्षेप नगरोस्।
सेनाको भूमिका सधैं पेशागत, निष्पक्ष र राष्ट्रिय उद्देश्यमा केन्द्रित रहनुपर्छ। नागरिक सुरक्षाका सवालमा सेना र सुरक्षासंस्थाबीच समन्वय, पारदर्शिता र जनविश्वास अत्यावश्यक छ। यदि सेना आफ्नो जिम्मेवारी कानूनी दायराभित्र रहँदै पेशागत रूपमा निर्वाह गर्न सक्षम रह्यो भने, देशमा स्थायित्व र जनविश्वास दुवै मजबुत हुनेछन्।
संविधानले दिएको अधिकार र जिम्मेवारी अनुसार काम गर्ने सेना देशको गौरव हो। त्यसैले यसको प्रत्येक पहल राष्ट्रको स्थायित्व, जनसुरक्षा र लोकतान्त्रिक मूल्यमान्यताको सन्तुलनमा रहोस् भन्ने अपेक्षा सबैको रहन्छ।
‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं,’ अपिलमा भनिएको छ।
‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ,’ सेनाले भनेको छ, ‘नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ ।’