सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

आगामी आम निर्वाचनमा बढ्दो सुरक्षा चुनौती

banner add
writter
बिहि, २४ पुस २०८२
(Shares)

दिपक राज जोशी

काठमाडौँ ।आगामी आम निर्वाचन नजिकिँदै गर्दा देशभरि सुरक्षा चुनौती थप जटिल बन्दै गएको सुरक्षा निकायहरूले बताएका छन्। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र हिंसामुक्त बनाउन राज्य दायित्वबद्ध रहे पनि हाल देखा परिरहेका विभिन्न जोखिमहरूले सुरक्षा संयन्त्रलाई थप सक्रिय र संवेदनशील बन्न बाध्य बनाएको छ।

सुरक्षा निकायका अनुसार जेलबाट फरार रहेका अपराधीहरूको उपस्थिति र जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै फेला नपाईनु निर्वाचन सुरक्षाको प्रमुख चुनौती बनेको छ। यस्ता अपराधी तथा अवैध हतियारका कारण मतदान केन्द्रमा हिंसा, मतदाता आतंकित पार्ने गतिविधि, प्रतिस्पर्धी समूहबीच भिडन्त वा मतपेटिकामाथि आक्रमण गर्ने सम्भावना उच्च रहेको बताइएको छ। सुरक्षाकर्मीहरूका अनुसार यस्ता घटनाले निर्वाचनको विश्वसनीयता नै प्रश्नमा पार्न सक्छ।

यस्तै, विभिन्न स्थानीय तह तथा प्रतिस्पर्धी क्षेत्रहरूमा देखिने राजनीतिक तनाव, प्रभावशाली शक्तिकेन्द्रहरूको दबाब, मतदान केन्द्र कब्जा गर्ने प्रयास, मतदातालाई डर–धम्की दिने लगायतका गतिविधि निर्वाचन सुरक्षाका अर्का जोखिमका रूपमा पहिचान भएका छन्। सामाजिक–जातीय विभाजन भएका क्षेत्र तथा अत्यधिक प्रतिस्पर्धी क्षेत्रमा सामूहिक भिडन्तको सम्भावना समेत देखिएको छ।

डिजिटल माध्यमको विस्तारसँगै गलत सूचना, अफवाह र भ्रामक सामग्री फैलिनु पनि सुरक्षा निकायका लागि नयाँ चुनौती बनेको छ। सामाजिक सञ्जालमार्फत फैलिने यस्ता सूचनाले स्थानीय तहमा द्वन्द्व, तनाव र अविश्वास बढाउने अवस्थाले निर्वाचन वातावरणमा नकारात्मक प्रभाव पार्न सक्ने सुरक्षातर्फ संकेत गरिएको छ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानीय प्रशासनबीच घनिष्ठ समन्वय आवश्यक रहेको अधिकारीहरूको भनाइ छ।

यसअन्तर्गत—

            •          संवेदनशील क्षेत्र पहिचान,

            •          मतदान केन्द्रको सुरक्षा स्तर निर्धारण,

            •          सूचना संकलन तथा विश्लेषण,

            •          छिटो प्रतिक्रिया (Rapid Response) क्षमता,

            •          फरार अपराधीको निगरानी तथा पक्राउ प्रयास,

            •          अवैध हतियार संकलन अभियान—जस्ता उपायहरूलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

स्थानीय तहमा Community Policing को सक्रियता बढाउनु, स्थानीय समुदायसँग सहकार्य विस्तार गर्नु र जोखिम पहिचानमा नागरिक सहभागिता सुनिश्चित गर्नु आवश्यक रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन्।

सुरक्षा निकायका साथै नागरिक समाज, स्थानीय समुदाय, राजनीतिक दल र आम मतदाताको जिम्मेवारीपूर्ण व्यवहारले मात्रै निर्वाचन सुरक्षालाई मजबुत बनाउन सकिने विशेषज्ञहरूको भनाइ छ। गलत गतिविधिबारे जानकारी दिनु, भड्काउने घटनामा संलग्न नहुनु र सामाजिक सद्भाव कायम राख्नु शान्तिपूर्ण निर्वाचनका आधार मानिन्छ।

सुरक्षाविद्हरूका अनुसार प्रभावकारी सुरक्षा योजना, समयमै सूचना प्रवाह, प्रशासनिक तयारी र नागरिक सहकार्यकै बलमा आगामी आम निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सकिनेछ। सुरक्षित निर्वाचन नै स्थिर शासन, समृद्ध लोकतन्त्र र जनविश्वासका लागि महत्वपूर्ण आधार रहेको उनीहरूको निष्कर्ष छ।

( लेखक: दिपकराज जोशी सुरक्षा क्षेत्र र समसामयिक विषयमा कलम चलाउँछन्।)

ads
ads
add
banner add

सम्बन्धित खबर