सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

बाघ संरक्षणको अर्को चरण : २३ सय क्यामराबाट गणना आजदेखि

banner add
writter
मङ्गल, ०१ पुस २०८२
(Shares)

आजदेखि देशभरका संरक्षित वन क्षेत्रमा बाघ गणना औपचारिक रूपमा सुरु भएको छ। करिब २३ सय क्यामेरा ट्र्याप जडान गरेर बाघको वास्तविक संख्या, आवागमन क्षेत्र र संरक्षण अवस्थाको तथ्यांक संकलन गरिँदैछ। 

यस अभियानलाई बाघ संरक्षणको दीर्घकालीन रणनीतिसँग जोडिएको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

पाँचौँ राष्ट्रिय बाघ गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै लालझाडी करिडोरमा बाघ गणना सुरु भएको छ। यस गणनामा वैज्ञानिक विधि अपनाउँदै तीन वटा ब्लकमा विभाजन गरी बाघको अवस्था अध्ययन गरिँदैछ।

गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा ट्र्याप प्रयोग गरिँदैछ। करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यी संरक्षित क्षेत्र र करिडोरमा बाघको संख्या, बासस्थान तथा आहार प्रणालीबारे विस्तृत अध्ययन र अनुगमन गरिनेछ।

यसअघि सन् २०२२ मा सम्पन्न गणनामा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो। चालु बाघ गणना अभियान चैतसम्म सञ्चालन हुने जनाइएको छ।

नेपालले विगत दशकमा बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ। तर बढ्दो बाघ संख्या सँगसँगै मानव–बाघ द्वन्द्व, आवास क्षेत्रको संकुचन र जैविक सन्तुलनका चुनौती पनि बढ्दै गएका छन्। यस्ता अवस्थामा वैज्ञानिक र तथ्यमा आधारित गणना अपरिहार्य हुन्छ।

क्यामेरा ट्र्याप प्रविधिबाट संकलित तथ्यांकले बाघको मात्र होइन, समग्र वन्यजन्तु व्यवस्थापन र संरक्षण नीतिमा सुधार ल्याउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। सरकार, संरक्षणकर्मी र स्थानीय समुदायको सहकार्यमा सुरु भएको यो गणनाले संरक्षण र विकासबीच सन्तुलन खोज्ने आधार तयार पार्नेछ।

बाघ गणना केवल संख्या गन्ने प्रक्रिया मात्र होइन, प्राकृतिक सम्पदाको संरक्षणप्रति राज्यको प्रतिबद्धता परीक्षण गर्ने अवसर पनि हो। यस अभियानबाट प्राप्त निष्कर्षले आगामी संरक्षण नीति कस्तो हुनुपर्छ भन्ने दिशानिर्देश गर्नेछ।

ads
ads
add
banner add

सम्बन्धित खबर