निर्वाचन लोकतन्त्रको सबैभन्दा
संवेदनशील अभ्यास हो। यही अवधिमा फैलिने सूचना, टिप्पणी र विश्लेषणले मतदाताको धारणा निर्माण गर्छ।
त्यसैले चुनावी वातावरणमा भ्रामक सूचना, अपुष्ट आरोप र उत्तेजक सामग्रीको प्रभाव अत्यन्त गम्भीर हुन्छ। यसै
सन्दर्भमा प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमलाई सत्य, तथ्यपरक, सन्तुलित र मर्यादित समाचार प्रवाह गर्न आग्रह गर्नु
समयसापेक्ष कदम हो।
पछिल्ला
वर्षहरूमा सामाजिक सञ्जाल र अनलाइन माध्यमको तीव्र विस्तारसँगै अपुष्ट दाबी,
सम्पादित भिडियो, र भ्रामक शीर्षकले सार्वजनिक बहसलाई भ्रमित
गर्ने प्रवृत्ति बढ्दो छ। यस्तो सामग्रीले मतदातालाई सुसूचित बनाउनुको सट्टा
अन्योलमा पार्छ। लोकतन्त्रमा स्वतन्त्र प्रेसको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि
त्यो स्वतन्त्रता जिम्मेवारीसहितको हुनुपर्छ।
निर्वाचनका
बेला सञ्चारमाध्यमले विशेष सावधानी अपनाउनुपर्छ। उम्मेदवार वा दलसम्बन्धी समाचार
प्रकाशन गर्दा आधिकारिक स्रोत, प्रमाण
र बहुपक्षीय प्रतिक्रिया सुनिश्चित गर्नुपर्छ। आरोपका समाचारमा सम्बन्धित पक्षको
धारणा समेट्नु पत्रकारिताको न्यूनतम मर्यादा हो।
त्यसैगरी,
मतदातालाई प्रभावित पार्ने गरी तथ्य
तोडमोड गरेर प्रस्तुत गर्नु वा सामाजिक सद्भावमा असर पर्ने सामग्री प्रसारण गर्नु
लोकतान्त्रिक मूल्यविपरीत हो। पत्रकारिता केवल समाचारको व्यापार होइन; यो सार्वजनिक उत्तरदायित्व हो।
आज
आवश्यक कुरा सेन्सेसन होइन, विश्वसनीयता
हो। निर्वाचन निष्पक्ष र विश्वसनीय बन्न सञ्चार क्षेत्रले आत्मानुशासन, आचारसंहिता र व्यावसायिक मानकको पालना
गर्नैपर्छ। काउन्सिलको चेतावनीलाई औपचारिक सूचना मात्र नभई नैतिक मार्गदर्शनका रूपमा
ग्रहण गरिनुपर्छ।
सत्य र सन्तुलित सूचनाले मात्रै मतदाता
सशक्त बन्छन्। त्यसैले चुनावी वातावरणमा हरेक शब्द, हरेक शीर्षक र हरेक प्रसारण जिम्मेवारीका साथ
प्रस्तुत हुनु आजको अपरिहार्य आवश्यकता हो।