काठमाडौँ। हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्बिर’ सार्वजनिक गरेको छ। उक्त सङ्कलित तस्बिरमा नेपालका विपिन जोशीको अनुहार पनि देखिएको छ।
हमासले इजरायली सेनाको तीव्र हवाई तथा स्थलगत आक्रमणका कारण बन्दीहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको दाबी गरेको छ। अल जजिराका अनुसार गाजा सिटी नियन्त्रणमा लिने अभियान जारी रहँदा सो तस्बिर अनलाइन सार्वजनिक गरिएको हो।
सङ्कलित तस्बिरलाई ‘रोन अराड’ शीर्षक दिइएको छ, जसले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेना क्याप्टेन रोन अराडलाई सङ्केत गर्छ। उनलाई आमल आन्दोलनले कब्जा गरी पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो।
इजरायली अधिकारीहरूले करिब २० बन्दी जीवित रहेको विश्वास गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो संख्या २० भन्दा कम रहेको बताएका छन्। यसबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्दी फिर्ता गर्ने र हमासलाई पराजित गर्ने दाबी दोहोर्याएका छन्।