काठमाडौं । जम्मु र कश्मीरमाथि भारतको नियन्त्रणको विरोध
गर्दै काश्मिरीहरूले आज अक्टोबर २७ मा विश्वभर ‘ब्यालक डे’ अर्थात कालो
दिवस मनाइरहेका छन्।सिमा वर्ती दुवैतर्फ रहेका काश्मिरी समुदाय तथा विभिन्न देशमा
बसोबास गर्दै आएका काश्मिरीहरूले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा
उठाउँदै विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवस मनाउन लागेका हुन्।
‘कश्मीर मिडिया सर्भिसका अनुसार, सन् १९४७
अक्टोबर २७ मा भारतीय सेना जम्मु र कश्मीरमा प्रवेश गरेको घटनालाई काश्मिरी पक्षले
आफ्नो क्षेत्रमाथिको कब्जाको सुरुवातका रूपमा लिने गरेको छ। उनीहरूले उक्त घटनाले
काश्मिरी जनताको राजनीतिक आकांक्षा र आत्मनिर्णयको अधिकारलाई बेवास्ता गरेको आरोप
लगाउँदै आएका छन्।
श्रीनगरबाट जारी विज्ञप्तिमा अल पार्टीज हुर्रियत कन्फरेन्स
(एपीएचसी) ले भारतको नियन्त्रणमा रहेको जम्मु र कश्मीर, आजाद
जम्मु र कश्मीर तथा विश्वका विभिन्न मुलुकमा रहेका काश्मिरीहरूलाई कालो दिवसका
कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। संगठनले उक्त क्षेत्रका विभिन्न स्थानमा
हडताल गर्नसमेत आग्रह गरेको छ।
एपीएचसीका नेताहरूले कश्मीर विवादको समाधानका लागि
अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
उनीहरूले काश्मिरी जनताको चाहना र संयुक्त राष्ट्रसंघका सम्बन्धित प्रस्तावलाई
आधार बनाएर विवादको स्थायी समाधान खोज्न आग्रह गरेका छन्।
यसैबीच, आजाद जम्मु र कश्मीरमा पनि विभिन्न
कार्यक्रम आयोजना गरिँदै छन्। सन् १९४७ अक्टोबर २७ मा भारतीय सेना प्रवेश गरेको
घटना र सन् २०१९ अगस्ट ५ मा भारत सरकारले जम्मु र कश्मीरको विशेष संवैधानिक हैसियत
खारेज गरेको निर्णयको विरोधमा जिल्ला तथा तहसील मुख्यालयहरूमा र्याली र सेमिनार
आयोजना गरिने जनाइएको छ।
आजाद जम्मु र कश्मीरका राष्ट्रपति तथा प्रधानमन्त्रीको
निर्देशनअनुसार सम्बन्धित जिल्लामा जिल्ला प्रशासनका अधिकारीहरूको नेतृत्वमा विरोध
र्याली निकाल्ने तयारी गरिएको छ। राजधानी मुजफ्फराबादमा ‘कश्मीर लिबरेसन सेल’ले
विरोध प्रदर्शनसहित र्याली आयोजना गरेको छ। उक्त कार्यक्रममा आजाद जम्मु र
कश्मीरका प्रधानमन्त्री इफ्तिखार गिलानीले नेतृत्व गर्ने जनाइएको छ।
त्यसैगरी, ‘पासबान–ए–हुर्रियत जम्मु र कश्मीर’, काश्मिरी
शरणार्थी समुदाय, विभिन्न हुर्रियत संगठन तथा राजनीतिक र
धार्मिक समूहहरूले पनि कालो दिवसका अवसरमा विरोध र्याली तथा अन्तरक्रिया कार्यक्रम
आयोजना गरेका छन्।
काश्मिरी पक्षले हरेक वर्ष अक्टोबर २७ लाई विरोध दिवसका
रूपमा मनाउँदै भारतको नियन्त्रणविरुद्ध आवाज उठाउँदै आएको छ। उनीहरूले कश्मीर
समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको सक्रियता आवश्यक रहेको बताउँदै
आएका छन्।