प्रम ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला हुनु नेपालको समकालीन राजनीतिका दृष्टिले महत्वपूर्ण विषय हो। राजनीतिक दलका आन्तरिक नियम, विधान र परिस्थितिले नेतृत्व फेरबदल वा निरन्तरता दुवैको सम्भावना बोकेको हुन्छ। ओलीजस्ता अनुभवी नेताले फेरि नेतृत्व सम्हाल्ने बाटो खुल्नु उनको राजनीतिक हैसियत, दलभित्रको पकड र समर्थनको परिणाम मान्न सकिन्छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष हुने वैधानिक बाटो खोलेको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेन सर्वसम्मतले पारित गरेको छ । एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा हटेसँगै अध्यक्ष ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।
प्रतिवेदनमाथि छलफल भएर समूहगत रूपमा प्रतिवेदन पेस भएका छन् । एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं समूह नेता कृष्णप्रसाद जैसीले अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष सुनाएको उल्लेख गर्नुभयो ।
कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजङ्ग शाहले अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय रहेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरेर पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पु¥याउन प्रतिवेदनहरूले प्रस्ट दिशा निर्देश गरेको विश्लेषण गर्नुभयो । बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० बर्से उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको बताउनुभयो ।
मधेश प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने उल्लेख गर्नुभयो । कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेस गर्नुभएको विधान संशोधनमा ७० बर्से उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरिएको उल्लेख गर्नुभयो ।
आन्तरिक लोकतन्त्र र नेतृत्वको निरन्तरता लामो समयसम्म एउटै व्यक्तिले नेतृत्व गर्दा दलभित्र नयाँ पुस्ता वा वैकल्पिक नेतृत्व उदाउने अवसर घट्न सक्छ। स्थायित्व बनाम एकाधिकार समर्थकहरूले ओलीको अनुभव र लोकप्रियतालाई पार्टी एकता तथा स्थायित्वको आधार ठान्छन्, तर आलोचकहरूले यो अभ्यासलाई नेतृत्वमा एकाधिकारको रूपमा लिन्छन्।
यसले देखाउँछ कि नेपालको प्रमुख दलहरूमा नेतृत्वको उत्तराधिकार प्रष्ट र संस्थागत नभई व्यक्तिकेन्द्रित रहँदै आएको छ। ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुलेको घटनाले दलभित्रको शक्ति समीकरण, भावी निर्वाचन रणनीति र आन्तरिक लोकतान्त्रिक अभ्यासबारे गम्भीर बहस आवश्यक बनाएको छ।