काठमाडौँ । स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित
रुपन्देहीमा पक्राउ परेका भियतनामी नागरिक डिना थियन ट्रानलाई कारबाहीका लागि
काठमाडौं ल्याइएको छ।
३० वर्षीय ट्रानलाई आज दिउँसो राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी गरिएको
छ। उनी गत बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं
आउने क्रममा पक्राउ परेका थिए।
प्रहरीका अनुसार उनको साथबाट १३ लाख ६ हजार १४० रुपैयाँ, २१ हजार ३५० भारतीय
रुपैयाँ, ३९
हजार ८११ अमेरिकी डलर, २० हजार जापानी येन र १३ लाख ६५ हजार भियतनामी डोङ बरामद
भएको थियो।
त्यसैगरी, पाँच
थान स्मार्टफोन, आठवटा
सिमकार्ड तथा सुनजस्तो देखिने धातुले बनेको ३.१५० ग्रामको माला पनि बरामद गरिएको
प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहेका ट्रानलाई मुद्दा चलाउन
काठमाडौं ल्याइएको हो। राजस्व अनुसन्धान विभागले वैदेशिक विनिमयसम्बन्धी
कानुनअन्तर्गत अनुसन्धान तथा कारबाही अघि बढाउने र त्यसपछि उनलाई सम्पत्ति
शुद्धीकरण अनुसन्धान विभागमा पठाइने तयारी रहेको जनाइएको छ।