काठमाडौँ । नेपालमा पछिल्ला वर्षहरूमा भेप (e-cigarette) तस्करी व्यापक हुँदै गएको छ। विशेषगरी भारत–नेपाल सीमा क्षेत्रमा यसले ठुलो चुनौती निम्त्याइरहेको छ। स्वास्थ्य मन्त्रालयले भेप र ई–सिगरेटको बिक्री वितरणमा रोक लगाएको भए पनि बजारमा सजिलै पाइन्छन्। यसको पछाडि संगठित तस्करी नेटवर्क सक्रिय रहेको तथ्य विभिन्न रिपोर्टले देखाउँछन्।
तर चिन्ता लाग्दो कुरा के हो भने, प्रहरी प्रशासनले तस्करी नियन्त्रणका नाममा प्रायः भरिया, साना व्यापारी वा बोक्ने मजदुरलाई मात्र समात्ने गरेको छ। वास्तविक रूपमा भेप तस्करीको मूल स्रोत, आपूर्ति गर्ने ठूलो कारोबारी वा संरक्षण दिने उच्च स्तरका व्यक्तिहरू कानुनी प्रक्रियाबाट टाढै रहन्छन्। यसरी सानो भरियामात्र पक्राउ गरेर मूल जडलाई छोड्ने परिपाटीले समस्या समाधान गर्ने हैसियत राख्दैन।
यसरी गर्दा तस्करी नियन्त्रण भएको देखाउने मात्र काम हुन्छ, तर वास्तवमा ठूला गिरोह अझ बलियो बन्छन्। यसले राज्यको कानुनी शासन र प्रहरीको विश्वसनीयतामाथि प्रश्न खडा गर्छ।
राजस्व विभागको तथ्याङ्कमा यस वर्ष भेप (विद्युतीय चुरोट) आयात भएको छैन । आयात इजाजत नभएको त्यही भेप आजभोलि देशका विभिन्न स्थानबाट ठुलो परिणाममा बरामद भइरहेको छ ।
आइतबार मात्र प्रहरीले काठमाडौँको चमतीबाट तीन हजार ८०५ थान भेपसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका निमा छिरिङ शेर्पा, कृष्णबहादुर गुरुङ, रामबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । राजस्व छली गरी भण्डारण गरिएका ती भेप बरामद भएका हुन् ।
स्कुल कलेजका विद्यार्थीले नै भेपको लतमा फस्दै गएको देखिएपछि जनस्वास्थ्यमा नै गम्भीर असर पर्ने कारण देखाउँदै स्वास्थ्य मन्त्रालयले भेपको कारोबार र ओसारपसारमै प्रतिबन्ध लगाउन माग गर्दै आएको थियो।
चिनियाँ कम्पनीका भेपहरू आयातमा भन्सार र अन्तःशुल्क महँगो भएका कारण पनि गिरोहले तस्करीमार्फत यसको ओसारपसार र कारोबार गरिरहेको पाइएको छ । भारतलगायतका ४० मुलुकमा पूर्ण प्रतिबन्धित भेप नेपाल हुँदै तिनै मुलुकहरूमा तस्करी गर्न ठुलो गिरोह सक्रिय रहेको स्रोत बताउँछ तर पक्राउ पर्नेमा भने सामान्य भरिया मात्र हुने गरेका छन् ।
नेपालमा भेप (e-cigarette) तस्करी सामान्य अपराध नभई संगठित अपराधको रूपमा विकसित भइरहेको प्रमाण पछिल्ला घटनाले स्पष्ट देखाएका छन्। राजस्व अनुसन्धान विभागले सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध पौने दुई अर्ब रुपियाँ जरिवाना र जेल सजाय माग गर्दै अदालतमा मुद्दा दायर गर्नु केवल एउटा उदाहरण हो।
सिल्क समूहमार्फत मात्रै नभई विभिन्न सात कम्पनीमार्फत लाखौँ थान भेप अवैध रूपमा नेपाल भित्र्याइएको खुलासा हुनु, यस व्यापारमा शक्तिशाली गिरोह सक्रिय रहेको प्रमाण हो।
स्वास्थ्य मन्त्रालयले भेपको आयात, उत्पादन, वितरणमा प्रतिबन्ध लगाइसके पनि अदालतले आयातकर्ताको पक्षमा दिएको अन्तरिम आदेशले कार्यान्वयनमा समस्या देखिएको छ। यसबीच, भन्सार विभागले भेपको आधिकारिक आयात नभएको दाबी गरे पनि बजारमा खुलेआम बिक्री वितरण भइरहेको तथ्य आफैंमा प्रश्न खडा गर्छ। यसले राज्यका निकायबीच समन्वय र कानुनी कठोरतामा कमजोरी रहेको देखाउँछ।
भेपलाई केवल स्वास्थ्यसँग मात्र सम्बन्धित तस्करी मान्न मिल्दैन। यसैको प्रयोग गरेर सुन लुकाएर ल्याइएको घटना समेत सार्वजनिक भएको छ। पूर्वसभामुखका छोरा राहुल महरासहितको संलग्नता देखिएको त्यस्तो घटनाले भेप तस्करीसँगै सुन तस्करीजस्तो गम्भीर अपराध जोडिएको देखाउँछ।
सिन्धुपाल्चोक, रसुवा, मुस्ताङ जस्ता सीमा नाकाहरू हुँदै भेपको अवैध ओसारपसार भइरहेको प्रहरीकै तथ्याङ्कले देखाउँछ। यसबाट ठूला नेटवर्कको संरक्षण र नियोजित तस्करीको स्वरूप पुष्टि हुन्छ। तर विडम्बना के छ भने, यस्ता ठूलो स्वरूपका अपराधमा प्रायः साना भरियामात्र पक्राउ पर्छन्, जबकि योजनाकार र संरक्षकहरू कानुनको कठोरताबाट बचिरहेका हुन्छन्।
पहिले अन्तर्राष्ट्रिय विमानस्थलबाटै आयात र तस्करी दुवै हुने भेप आयातमा इजाजत नपाउँदा विभिन्न सीमा नाकाबाट तस्करी हुने गरेको छ । गत साता प्रहरीले दैलेखको आठबिसकोट–६, खिड्कीजिउलामा जडीबुटी बोकेको ट्रकभित्र लुकाइछिपाई भारततर्फ तस्करी गर्न लागेको ३९ हजार नौ सय थान भेप बरामद ग¥यो ।
नेपाल–चीन नाका हुम्लाको हिल्साबाट राजस्व छली गरी अवैध रूपमा भित्र्याइएको उक्त भेप कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रको ट्रकबाट बरामद भयो । केन्द्रका सञ्चालक कुन्साङदोर्जी लामाले उक्त ट्रकमा जम्मा पाँच क्विन्टल सेतक चिनी (जडीबुटी) रहेको भनी वन कार्यालयबाट जाँचपास गराई ल्याएको अवस्थामा ट्रक खानतलासी गर्दा १२ करोड रुपियाँभन्दा बढीको उक्त भेप बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेशबहादुर बरालका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ठुलो परिमाणमा भेप बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध भेप बोकेको ट्रकसहित नियन्त्रणमा लिएका तीन जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरमा बुझायो । पक्राउ पर्नेहरू भरिया भए पनि मुख्य व्यक्ति पक्राउ परेका छैनन् ।
त्यसको अघिल्लो दिन भदौ ७ गते सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) शक्तिपुर बर्दियाले झन्डै ४८ लाख बराबरको भेप बरामद ग¥यो । यो भेप पनि मध्यरातमा बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलाराम चोक हुँदै सामान्य भरियाले साइकलमा बोकेर भारततर्फ लैजाने क्रममा बरामद भयो । गस्तीमा रहेको प्रहरी देख्नासाथ भेप नै छाडेर भागेपछि प्रहरीले तिनै भरियासमेत पक्राउ गर्न सकेन ।
गत पुसमा पनि राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको इमाडोलबाट लुकाइछिपाइ राखेको अवस्थामा ८६ हजार थान भेप बरामद ग¥यो । त्यहीबेला राजस्व अनुसन्धान कार्यालय बुटवलले पनि दुई हजार छ सय थान भेप बरामद ग¥यो ।
चीनबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याएर भण्डार गरिएका ती भेपहरू पनि भारततर्फ नै तस्करीको तयारीमा रहेको खुल्यो । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा प्रहरीले देशका विभिन्न स्थानबाट झन्डै ७५ हजार थान भेप बरामद गरेको छ ।
अब समय आएको छ कि सरकारले भेप तस्करीलाई सामान्य अपराधको हैसियतमा होइन, संगठित अपराध र राष्ट्रिय सुरक्षासँग जोडिएको मुद्दाका रूपमा लिनुपर्छ। यसमा संलग्न ठूला गिरोहमाथि कठोर कारबाही, कानुनी स्पष्टता, भन्सार र प्रहरीबीचको बलियो समन्वय, र न्यायालयले दिने आदेशमा स्वास्थ्य–सुरक्षा दृष्टिकोणलाई प्राथमिकतामा राख्न सकियो भने मात्र समस्या नियन्त्रणमा आउन सक्छ ।